
काठमाण्डु, ६ चैत – अफगानिस्तानलाई ९ रनले पराजित गर्दै नेपालले बंगलादेशमा जारी आइसीसी ट्वान्टी–ट्वान्टी वल्र्डकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ ।
३ खेलमा २ जित र १ पराजयसहित ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । आजै हुने खेलमा हङकङले बंगलादेशलाई १२ ओभर वा सो भन्दा अघि पराजित गर्न सकेमा नेपाल दोस्रो चरण पुग्नेछ ।
अफगानिस्तानसँग लगातार ६ खेलमा भोगेको हारको बदला नेपालले विश्वकपमा लिएको छ । ट्वान्टी-ट्वान्टी क्रिकेटमा अफगानिस्तान विरुद्ध यो नेपालको पहिलो जित हो ।
हारसँगै अफगानिस्तानको अघिल्लो चरण पुग्ने गणितीय सम्भावनासमेत समाप्त भएको छ ।
नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । उनको सो महत्वपूर्ण योगदानका लागि म्यान अफ द म्याच घोषित भए ।
चटगाउँमा १ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमात्र जोड्न सक्यो । उसका लागि स्टानिकजाइले ४९, सफिकुल्लाहले ३६ र समिउल्लाह सेनवारीले १५ रनको योगदान दिए ।
यसअघि सुवास खकुरेलको अर्धसतकीय पारीको मद्दतमा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४१ रन जोडेको थियो । ५३ बलको सामना गरेका खकुरेलले ६ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे । यो यति ठूलो प्रतियोगितामा नेपाली ब्याट्सम्यानको पहिलो अर्धसतक हो ।
यस्तै सरद भेषावकरले ३७ र ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा सागर पुन ८ र पारस खड्का १ रनमा आउट भए । अन्तिम दुई ओभरमा नेपालले जम्मा १२ रन जोड्न सक्यो । अन्तिम ओभरमा विनोद भण्डारीले २ र नरेस बुढाऐरले १ बल डट खेले । अफगानिस्तानका लागि सपूर जदरानले २ विकेट लिए ।