तीन वर्षभित्र लोडसेडिङ अन्त्य : मन्त्री ज्ञवाली

काठमाण्डु टुडे २०७० चैत ५ गते १३:०२ मा प्रकाशित

Radha Gyaliविराटनगर, ५ चैत – ऊर्जा मन्त्री राधा ज्ञवालीले लामो समयदेखि रोकिएका जल विद्युत् आयोजना सुचारु गरी तीन वर्षभित्र सदाका लागि लोडसेडिङ अन्त्य गर्न वर्तमान सरकार लागिपरेको बताएकी छिन् ।

उद्योग सङ्गठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले विद्युतभार कटौती अन्त्यका लागि विद्युत् उत्पादनसम्बन्धी सरकारले नयाँ नीति तथा ठोस कार्यक्रम ल्याउन लागेको जानकारी दिइन् ।

सरकारले जलविद्युत आयोजनालाई सुरक्षा दिएर सुचारु गर्ने, विद्युत उत्पादनका लागि विदेशी तथा निजी क्षेत्रको लगानीलाई प्राथमिकता दिने तथा विद्युत उत्पादनका लागि अनुमतिपत्र लिएर समयमा काम पूरा नगर्ने संस्था तथा व्यक्तिहरुलाई समेत कारबाही गर्ने उनको दृढता छ ।

मन्त्री ज्ञवालीले नियमित विद्युत आपूर्तिका लागि भारतको कटैयाबाट नेपालतर्फ ल्याइएको ट्रान्समिशन क्रसिङ लाइन विस्तारका लागि भारत सरकारसँंग वार्ता भइरहेको जानकारी दिइन् ।

जनतालाई राहत दिन सरकारले भारतसँग सीमा जोडिएका दक्षिणवर्ती तराईका गाउँहरुमा कोइलाको माध्यमबाट वातावरण मैत्री ऊर्जा उत्पादन गर्न लागेको समेत बताईन् ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवाल, मोरङ व्यापार सङ्घका अध्यक्ष अविनाश बोहरा र युवा उद्योगी राकेश सुरानाले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका पाँच सयभन्दा बढी उद्योगले अनियमित विद्युत आपूर्तिका कारण ६० प्रतिशत उत्पादन कटौती गरेको र त्यसवाट मासिक पाँच अर्बभन्दा बढी नोक्सानी ब्यहोर्नुपरेको गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us