
काठमाण्डु, ५ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत कागजातका आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको अभियोगमा वैदेशिक रोजगार विभागका नौजना कर्मचारीलाई पक्राउ गरेको छ ।
आयोगले विभागका निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृतहरू कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी, बाबुलाल रेग्मी, नायब सुब्बाहरू भीमबहादुर बस्नेत र लक्ष्मीप्रसाद ढुङ्गाना तथा कम्प्युटर अपरेटरहरू सञ्जीव नेपाल र सुशील शाक्यलाई बुधबार हिरासतमा लिएको हो ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई श्रम स्वीकृति प्रदान गर्ने सन्दर्भमा कतार गएका १०९ जनालाई गत पुस २८ गते र दुबई गएका ६३ जनालाई माघ ३ गते गैरकानूनीरुपले गलत कागजातहरूको आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई आयोगको हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको सापकोटाले बताए ।