काठमाण्डु, ५ चैत – मुल्यवृद्धि फिर्ताको माग गर्दै १५ बिद्यार्थी संगठनले आज उपत्यका बन्द गरेका छन् ।
प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा बन्द आव्हान भएको हो ।
बिहानैदेखि सडकमा सवारी साधन चलेका छैनन भने पसलहरु बन्द भएका छन् ।
बन्द गराउन सडकमा उत्रिएका क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मासहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अध्यक्ष शर्मालाई रत्नपार्कबाट प्रहरीले पक्राउ गरेको उपाध्यक्ष जागृत रायमाझीले बताए ।
क्रान्तिकारीले बालाजुबाट उपाध्यक्ष रमेश मल्ल, सचिव नरेन्द्र न्यौपाने, उमेश थापा, ध्रुव ओलीलगायतलाई प्रहरीले पक्रेको जनाएको छ ।
प्रहरीले रत्नपार्कबाट बिहान थप ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सवै अखिल क्रान्तिकारीका बिद्यार्थी रहेको उपाध्यक्ष रायमाझीले बताए ।
सरकारले दुध, पेट्रोल र डिजेलमा गरेको मुल्यवृद्धिको बिरोधमा बिद्यार्थी संगठनहरु आन्दोलित हुँदै आएका छन् ।
मंगलबारसम्म बन्द आयोजना गर्ने पक्षमा रहेका सत्तारुढ दलका बिद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले राति आएर बन्दमा आफूहरुको समर्थन नरहेको जानकारी गराएका थिए ।