पहाडी भेगमा खण्डवृष्टिको सम्भावना

काठमाण्डु टुडे २०७० चैत ४ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, ४ चैत । मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकालगायतका पहाडी भेगमा यस याममा खण्डवृष्टिको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार बिहानपख हल्का चिसो हुने, दिउँसो गर्मी बढ्दै जाने तथा हावाहुरी भई साँझतिर बदली हुने र उपत्यका तथा पहाडी क्षेत्रमा हल्का खण्डवृष्टिको सम्भावना रहेको छ । खण्डवृष्टि भनेको कुनै स्थानमा वर्षा हुँदा त्यस नजिकको क्षेत्रमा वर्षा नहुने क्रम हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलले अहिले मनसुन अगावैको समय सुरु भइसकेकाले तापक्रम बढ्दै जाने तथा जमिन तात्ने हुँदा त्यसको स्थानीय प्रभाव मौसममा पर्ने र गड्याङ्गुडुङसमेत हुने सम्भावना रहेको बताए ।

हिमाली तथा तराई क्षेत्रमा भने खण्डवृष्टिको सम्भावना नरहेको भए पनि ती स्थानमा पनि क्रमिक रुपमा गर्मी चढ्दै जाने जानकारी उनले दिए ।

फागुन १५ देखि वैशाख १५ सम्मको अवधि (मार्चदेखि मे) लाई पूर्व मनसुनको समय मानिन्छ । यही महिनाको अन्तिम सातातिर काठमाण्डु उपत्यकामा साँझतिर असिनासमेत हुनसक्ने अनुमान महाशाखाले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us