भक्तपुर, ४ चैत – मध्यपुरथिमि नगरपालिकाले नगरभित्र सडक सञ्जाल तयार गर्दै भित्री सडकको मापदण्ड न्यूनतम छ मिटर कायम गरेको छ ।
सो नगरपालिकाको हालै सम्पन्न २३औँ नगरपरिषद्को निर्णयानुसार नगरपालिका क्षेत्रभित्र अब बन्ने कुनै पनि सडक न्यूनतम छ मिटर हुनुपर्ने गरी मापदण्ड कायम गरिएको नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले जानकारी दिए ।
नगरपालिकाले तत्कालका लागि छ मिटरभन्दा कम सडक भएको घरजग्गाको किनबेचसमेत रोक्का गरेको छ । कार्यकारी अधिकृत पोखरेलले भने, ‘मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र व्यवस्थित सहर निर्माणका लागि सडकको मापदण्ड न्यूनतम छ मिटर कायम गरिएको हो, छ मिटरभन्दा कम सडक भएको घरजग्गा किनबेचका लागि स्वीकृत लिन आएमा नदिन सबै वडा कार्यालयलाई पत्रचार गरिएको छ ।’
कार्यकारी अधिकृत पोखरेलले हाल केही समयका लागि यस्ता घरजग्गा किनबेच रोक्का गरिएको जानकारी दिँदै नगरपालिकाले तत्कालै राजनीतिक दलहरुसमेतको बैठक राखी त्यसले गर्ने निणयअनुसार घरजग्गा किनबेच खुल्ला गरिने बताए ।
थिमी नगरक्षेत्रमा चार मिटर र त्यसभन्दा साना सडकमा घर निर्माण गर्ने क्रम व्यापक रुपमा बढ्दै अव्यवस्थित बस्ती विकास भएकाले व्यवस्थित रुपमा बस्ती विकास गर्नका लागि सडकको मापदण्ड बढाएको नगरपालिकाले जनाएको छ ।
थिमी नगरक्षेत्रमा भित्री सडक न्यूनतम छ मिटर र त्यसभन्दा माथि मूल सडकसँग जोडिएका सहायक सडकहरु क्रमशः ८, १०, १२, १५, हँुदै २० मिटर कायम गरिने गरी सडक सञ्जाल तयार गर्दै सडक मास्टर प्लान बनाइएको छ ।
जग्गा प्लानिङ गरेर बिक्री गर्ने गिरोहले अव्यवस्थित र जथाभावी रुपमा प्लानिङ गर्ने र त्यस्ता जग्गामा १० देखि १६ फिटको सडक राखेर जग्गा बिक्री गर्नेक्रम बढेपछि नगरपालिकाले सडकको मापदण्ड बढाएको हो ।
सडक मापदण्ड बढाइएसँगै विभिन्न निकायबाट यसलाई फिर्ता लिन दबाब आएको नगरपालिकाले जानकारी दिएको छ ।