क्षमताका आधारमा राजदूत नियुक्ति : परराष्ट्र मन्त्री

काठमाण्डु टुडे २०७० चैत ४ गते ८:१३ मा प्रकाशित

mahendra-Pandeyनुवाकोट, ४ चैत – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मित्रराष्ट्रसँगको सहकार्यलाई प्रभावकारी बनाउनका लागि सरकारले परराष्ट्र नीतिमा सुधारका लागि पहल थालेको बताएका छन् ।

प्रेस चौतारी नुवाकोटले मंगलबार सदरमुकाम विदुरमा गरेको पत्रकार सम्मेलनमा उनले परराष्ट्र नीति देशलाई अन्तर्राष्ट्रियस्तरमा चिहाउने झ्याल भएकाले यसमा सुधारको आवश्यकता टड्कारो रहेको बताए ।

उनले भने, ‘सरकारले विदेशमा रहेका दूतावासमा राजदूत नियुक्ति भागबण्डामा नभई क्षमता, दक्षताका आधारमा गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।’

एमआरपी(यन्त्रले पढ्न सक्ने राहदानी) वितरणमा भइरहेको ढिलासुस्तीको समस्यालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर रहेको बताउँदै पाण्डेले एमआरपी छिटो वितरण र पाना थप्नका लागि के गर्न सकिन्छ भनी मन्त्रालयका अधिकारीसँग छलफल चलाइएको जानकारी दिए ।

साथै पाण्डेले स्थानीय निकाय लामो समयदेखि खाली रहँदा स्थानीय विकासका काम र नागरिकले प्राप्त गर्ने सेवा प्रभावित भइरहेको भन्दै जेठ भित्र स्थानीय निकायको निर्वाचन गराउने गृहकार्यमा सरकार जुटेको प्रष्ट पारे ।

निर्वाचनका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने ३० वटै दलको सहमति आवश्यक रहेकाले उनीहरुसँग सहमतिको प्रयास भइरहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us