सत्तारुढ दलकै सभासदले गरे मूल्य वृद्धिको विरोध

काठमाण्डु टुडे २०७० चैत ४ गते ७:५८ मा प्रकाशित

arjun narsingh kc_20120922061538काठमाण्डु, ४ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको व्यवस्थापिका संसदमा चर्को विरोध भएको छ । सत्तारुढ तथा विपक्षी दलका सभासदहरुले मूल्य वृद्धिको विरोध गरेका हुन् ।

बैठकमा बोल्दै सत्तारुढ काँग्रेसका सभासद अर्जुन नरसिंह केसीले सरकारले खानेपानी, दूध र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए ।

सिमान्तकृत र गरीब जनतामाथि भार थप्नेगरि गरिएको मूल्य वृद्धिले बजार अराजकतातर्फ बढेको भन्दै उनले  चिन्ता व्यक्त गरे । मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनको माग थियो ।

यस्तै प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका तर्फबाट बोल्दै सभासद कृष्णबहादुर महराले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरे । जनताको ढाड सेक्नेगरी गरिएको मूल्य वृद्धिबारे सरकारले जवाफ दिनुपर्ने उनको माग थियो ।

त्यसपछि बोलेका प्रधानमन्त्री सुशील कोइरालाले बिमस्टेक बैठकका विषयमा चर्चा गरे पनि मूल्य वृद्धिको विषयमा कुनै जवाफ दिएनन् । त्यसक्रममा बीचमै उठेर महराले मूल्यृ वृद्धिको विषयमा ध्यानाकर्षण गराउँदा पनि सरकार चुप लागेर बसे संसद बैठक चल्न नदिने बताए ।

त्यसपछि अर्थमन्त्री रामशरण महतले सकारका तर्फबाट जवाफ दिँदै बाध्यकारी अवस्थाका कारण मूल्य बढाउनु परेको बताए । नेपाल आयल निगम महिनामा १ अर्ब ७० करोड घाटामा रहेको भन्दै उनले सरकारी ढुकुटीबाट रकम तिरिरहेको बताए । आयल निगम १२ अर्ब ऋणमा रहेको उनको भनाइ थियो ।

आइओसीलाई तत्काल ५ अर्ब नदिए भोलीबाटै आपूर्ति बन्द हुनसक्ने भएकाले अप्रिय र अप्रत्यासित निर्णय लिनु परेको उनको भनाइ थियो ।

पुनः सभासद महराले उनको जवाफ टालटुले भएको भन्दै मूल्य वृद्धि फिर्ता लिने प्रतिवद्धता नजनाएसम्म सदन चल्न नदिने बताए । त्यस पछि सभामुख सुवास नेम्वाङले मूल्य वृद्धिको विषय संसदमा प्रवेश गरिसकेको भन्दै त्यसको बारेमा चित्त बुझ्दो जवाफ दिन सरकारको ध्यानाकर्षण गराउँदै आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरे ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा, एमाओवादी सभासद रामकार्की लगायतले पनि मूल्य वृद्धिको विरोध गरेका थिए । यस्तै नेमकिपा, फोरम लोकतान्त्रिक, तमलोपा, नेपा राष्ट्रिय पार्टी लगायतका सभासदले मूल्य वृद्धिको विरोध गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us