काठमाण्डु, ३ चैत – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयमा पार्टी भित्रै छलफल चलाउन नेता डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।
नेता भट्टराईले नयाँ शक्ति निर्माणको बहस चलाएपछि एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता सोमबार भट्टराई निवास सानेपा पुगेका थिए । अपराह्न भएको छलफलमा प्रचण्डले पार्टी भित्र छलफल नै नगरी बाहिर बहस चलाएको भन्दै अशन्तुष्टि जनाएका थिए ।
साथै आफूपक्षीय नेताहरुसँग भट्टराईले गरेको छलफल बारे पनि प्रचण्डले अशन्तुष्टि जनाएको स्रोतले बतायो ।
‘तपाईले उठाउनु भएको विषयमा पार्टी भित्र छलफल गर्दै अघि बढौंला,’ प्रचण्डले भने, ‘तर तपाईं पनि पार्टी पद्धति विपरित जानु भएन ।’
नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटीसहितका नेताहरु समेत सहभागी छलफलमा भट्टराईले अब नयाँ ढंगले सोच्नु पर्ने बताएका थिए ।
अब पनि पार्टी नेतृत्वले ध्यान नदिने हो भने जनताले नयाँ शक्ति निर्माण गर्ने उनको भनाइ थियो ।
भट्टराईले आफूले अहिले नै नेतृत्व परिवर्तनको कुरा नगरेको भन्दै त्यस दिशातर्फ अघि बढ्नुपर्ने मात्रै बताएको प्रष्ट पारे ।
साथै भट्टराईले आगामी बैशाख १८ बाट सुरु हुने राष्ट्रिय सम्मेलन स्थगित गर्न माग गरे पनि प्रचण्डले अस्विकार गरेको बुझिएको छ ।