श्रीमान विदेशिएका बेला परपुरुषसँग भेटिएपछि …

काठमाण्डु टुडे २०७० चैत ३ गते १२:५७ मा प्रकाशित

Parapurushबारा, ३ चैत – श्रीमती पाल्न छोरो विदेशिएका बेला परपुरुषसँग यौन सम्बन्ध राखेको भेटिएपछि बारामा ससुराले बुहारीलाई प्रहरीमा बुझाएका छन् ।

सिमराकी ती महिलालाई गाउँकै एक युवकसँग घरमै यौन सम्बन्ध राखिरहेको अवस्थामा भेटाइएपछि रातभर कोठामै थुनेर सोमबार उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ ।

हेटौँडा माइती भई सिमरामा विवाह गरेर आएको केही महिनापछि श्रीमान विदेशिएको र केही महिनायता परपुरुषसँग प्रेम सम्बन्धमा रहँदै आएको ती महिलाले बताएकी छिन् ।

दुबैलाई प्रहरीमा बुझाएपछि स्थानीय र माइती पक्षसमेत प्रहरी कार्यालयमा पुगेका थिए । घरपरिवारले अस्वीकार गर्ने भए माइतीमा बस्न आमाले गरेको आग्रहलाई ती महिलाले अस्वीकार गर्दै त्यही युवकसँग जीवन बिताउने बताइन् ।

‘हामी एक अर्कालाई माया गछौं,’ प्रहरी कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गर्दै त्यस युवकले भने, ‘अब हामी दाम्पत्य जीवनमा बाँधिन सहमति जनाउँछौं ।’

आफूले प्रेम गरेकाले श्रीमतीको रुपमा स्वीकार गर्ने र तिनले पनि आफूसँग बस्न चाहेको त्यस युवकले बताए । ती महिलाको अहिलेसम्म सन्तान भएको छैन भने युवक पनि अविवाहित हुन् ।

‘केटाकेटीबीच नयाँ जीवन सुरु गर्ने सहमति भयो,’ प्रहरी निरीक्षक जयराम कुईंकेलले भने, ‘ससुराको सहमतिमा पुरानो सम्बन्ध विच्छेद र नयाँ सम्बन्धलाई वैधता दिने सहमति भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us