
काठमाण्डु, ३ चैत – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत विद्यार्थी संगठनहरु र सरकारबीचको वार्ता विफल भएको छ ।
सरकारी पक्षले मुल्य वृद्धि फिर्ता लिन नसकिने अडान राखेपछि वार्ता विनानिष्कर्ष टुंगिएको हो ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारी टोलीले मूल्य वृद्धि फिर्ता लिन नसकिने भन्दै आन्दोलन स्थगित गर्न विद्यार्थी संगठनहरुलाई आग्रह गरेका थिए ।
‘उहाँहरुले विभिन्न डाटाहरु देखाएर आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो’, वार्तापछि अखिल क्रान्किारीका उपाध्यक्ष जागृत रायमाझीले भने, ‘हामी सो कुरामा सहमत भएनौं र वार्ता विना निष्कर्ष टुंगियो ।’
अब चैत ५ गतेको उपत्यका बन्दसहितका आन्दोलनका कार्यक्रम यथावत रहने रायमाझीले जानकारी दिए ।
‘सरकारी टोलीले व्यापारीले जस्तै नाफा घाटाको कुरा गर्नुभयो’, रायमाझीले भने, ‘यो नाफा घाटा भन्दा पनि आम जनताको दैनिकीसँग जोडिएको विषय भएकाले आन्दोलन जारी रहन्छ ।’
छलफलमा आपूर्तिसचिव माधवप्रसाद रेग्मी नेतृत्वको सरकारी वार्ताटोली र आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधि सहभागी थिए ।
सरकारले केही दिनअघि पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा ६/६ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।