
काठमाण्डु, ३ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिका सम्बन्धमा जारी आन्दोलन अझै सशक्त पार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
मूल्य वृद्धिका विरुद्धमा आन्दोलनरत विद्यार्थीको संयुक्त आन्दोलन समितिले राजधानीमा आयोजित छलफल एवम् अन्तक्र्रियामा सो धारणा आएको हो ।
अन्तरक्रियामा नेकपा– माओवादीका पोलिट्ब्युरो सदस्य हितमान शाक्यले अहिलेको मूल्य वृद्धि सामान्य किसिमको मूल्य वृद्धि नभएको बताउँदै पेट्रोलियम पदार्थलगायतमा गरिएको मूल्य वृद्धिले आम नेपाली सर्वसाधारण मारमा परिरहेको बताए ।
आयल निगममा बढिरहेको भ्रष्टाचारजन्य गतिविधिप्रति चासो नदिएर विभिन्न बाहनामा मूल्य वृद्धि गरिएको उनको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीले सरकारले अविलम्ब मूल्य वृद्धिको निर्णय खारेज गर्नुपर्ने माग गरे ।
युवा संघ नेपालका महासचिव राजीव पहारीले राहत ल्याउने जनअपेक्षाका विपरीत नवनिर्वाचित सरकारले मूल्य वृद्धि गरेर जनतालाई आहत तुल्याउने कार्य गरेको धारणा राखे ।
व्यवसायी ज्ञानेश्वर अर्यालले मूल्य वृद्धि हटाउन सक्ने विभिन्न विकल्प रहे पनि त्यसप्रति सरकारको चासो नपुगेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका का.वा. अध्यक्ष रमेशचन्द्र पौडेलले नव निर्वाचित सरकारबाट राहतमुखी कार्यक्रम आउने अपेक्षाका विपरीत भएको मूल्य वृद्धिले सर्वसाधारणलाई चिन्तित बनाएको बताए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आयल निगम जस्ता जनतासँग प्रत्यक्ष सरोकार रहेका संस्थामा हुने आर्थिक अपचलनका कुरालाई रोक्नु अपरिहार्य भएको बताए ।
असल शासन फाउन्डेसनका अध्यक्ष केदार खड्काले आयल निगमको आन्तरिक सुदृढीकरणका लागि विगतमा विभिन्न समितिले पेस गरेका प्रतिवेदन कार्यान्वयनमा नल्याउँदा समस्याहरु झनझन बल्झँदै गएको बताए ।