
काठमाण्डु, ३ चैत – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले तत्काल एकीकृत माओवादीसँग एकताको सम्भावना नरहेको बताएका छन् । रिपोटर्स क्लव नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले तत्काल पार्टी एक हुन नसक्ने बताए ।
‘अहिले हामीले दुईवटा विषयमा मात्रै संयुक्त विज्ञप्ती जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हौं’, उनले भने, ‘त्यो भन्दा नयाँ केही पनि भएको छैन ।’
पार्टी फुटेको २१ महिना पछि भएको पछिल्लो कार्यगत एकतालाई लिएर दुई पार्टी एक भए भनेर प्रचारवाजी गर्नु गलत भएको उनको भनाइ छ । कार्यगत एकतालाई आफ्नो पार्टीले विशेष महत्व दिएको उनले बताए ।
पछिल्लो कार्यगत एकता परिस्थितिले श्रृजना गरेको गजुरेलको भनाइ छ । साथै उनले जनवादी क्रान्तिको कार्यभार अझै पूरा नभएको बताए ।
‘हेटौंडा महाधिवेशनबाट एमाओवादीले जनवादी क्रान्तिको कार्यभार भएको निष्कर्ष निकाल्यो,’ उनले भने, ‘हामी अझै बाँकी रहेको छ भन्छौं, राजा फालिँदैमा र गणतन्त्र आउँदैमा जनवादी क्रान्ति पूर्ण भयो भन्नु गलत हो ।’
मुल रुपमा यही कुरामा दुई माओवादीबीच विमति रहेको उनको भनाइ छ । कार्यक्रममा एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले पनि दुबै पार्टी तत्काल एक हुन नसक्ने बताए ।
पार्टी फुटको स्पष्ट कारण र एकताको आधारबारे स्पष्ट नभई पार्टी एकीकरण हुन नसक्ने उनको भनाइ छ । मुलुकमा थुप्रै खाले परिवर्तनहरु भएपनि संस्थागत नभएकाले राजनीतिक अस्थ्रिता उत्पन्न भएको उनले बताए ।
अबको राजनीतिक बाटो के भन्ने बारेमा दुविधा रहेको उनको भनाइ छ ।