
विराटनगर, ३ चैत – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सबै दलको सहमतिमा संघीयतासहितको संविधान निर्माण गर्न सरकार क्रियाशील भएर लागेको बताएका छन् ।
विराटनगरस्थित आफ्नै प्रेस युनियन मोरङद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री रिजालले एक वर्षभित्र जनताले चाहेजस्तो लोकतान्त्रिक संविधान निर्माण गर्न सरकार दृढ रहेको प्रष्ट पार्नुभयो ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका डा. रिजालले स्थानीय निकायको निर्वाचनले संविधान निर्माण र संघीयतामा कुनै बाधा नपर्ने बताए ।
नेकपा एमाओवादी र नेकपा–माओवादी तथा मधेसी दलहरुलाई सहमतिमा ल्याएर सरकारले स्थानीय निकायको निर्वाचनको मिति तोक्ने उल्लेख गरे ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणको कार्य ठप्प भएकाले स्थानीय निकाय निर्वाचनको विरोध नगर्न सबै दलहरुलाई आग्रह गरे ।