
चितवन, ३ चैत – चितवनको क्यान्सर अस्पतालमा बनाइएको बिरामी कुरुवा घरले अस्पतालमा आउने बिरामी तथा तिनका आफन्तलाई राहत मिलेको छ ।
क्यान्सर अस्पतालले बिरामीलाई सस्तोमा बस्नका लागि कुरुवा घर निर्माण गरेको हो । घरमा दैनिक ५४ जनासम्म बस्न सक्ने क्षमता छ ।
आर्थिक अभावमा परेका बिरामी र आफन्त बस्नका लागि कुरुवा घरले निकै सहयोग पुगेको नेपालगन्जबाट बिरामी लिएर आएका केशव थापाले बताए ।
बाहिर होटलमा निकै महँगोमा बस्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले कुरुवा घरमा बस्न सुरक्षा र खर्चका हिसाबले पनि सजिलो भएको बताए ।
अस्पतालले रकमअनुसारको फरकफरक रुपमा कुरुवा घर भाडामा दिँदै आएको छ । दैनिक ५४ जना बस्नसक्ने क्षमताको उक्त कुरुवा घर निर्माण गरिएको छ र दैनिक ३०० पर्ने १८ वटा कोठा छ । यसमा एउटा कोठा, बैठक कक्ष, भान्छा तथा पकाउन ग्याससहितको व्यवस्था छ ।
दैनिक एक हजार पर्ने छवटा फ्याट नै क्यान्सर अस्पतालले उपलब्ध गराएको प्रशासन प्रमुख गृहनारायण महत्तोले बताउनुभयो । यस्तै दैनिक रु २० पर्ने सामूहिक कुरुवा घरसमेत रहेको छ ।
उक्त घरमा ३० जना बस्नसक्ने क्षमता रहेको छ । सस्तो भएकाले यसमा बिरामीको आकर्षण धेरै छ । दैनिक बिरामी तथा उनका आफन्तले कुरुवा घर भरिने गरेको महत्तोले बताए ।
दैनिक सयाँै बिरामी उपचारका लागि आउने क्यान्सर अस्पतालमा अहिलेको कुरुवा घर पर्याप्त नभएको अस्पताल प्रशासनले जनाएको छ तर पनि केही राहत मिलेको महतोले बताए । अस्पतालमा दैनिक ४०० नयाँ बिरामी आउँछन् ।
एक दुई दिन बस्नुपर्ने अवस्थामा बिरामी र आफन्तले कुरुवा घरको आश्रय लिने गरेका छन् । पैसा नहुँनेका लागि रु २० निकै सामान्य भएको आएका बिरामीहरु बताउँछन् ।
उपचारमा लामो समय लाग्ने गरेकाले पनि बिरामीलाई बसेर उपचार गराउनु यहाँको बाध्यता हो ।
यसैबीच अबुर्द रोग निवारण संस्थाले सोही क्षेत्रमा नयाँ कुरुवा घर निर्माण प्रक्रिया थालेको छ ।
कुरुवा घरमा बिरामीको चाप बढ्दै गएकाले २० शैया क्षमताको घर निर्माण प्रक्रिया थालिएको संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले बताए । दश लाखको लागतमा निर्माण गर्न लागिएको कुरुवा घरका लागि आर्थिक सङ्कलन गर्न लागिएको छ ।