
काठमाण्डु, ३ चैत– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले आजदेखि आन्तरिक हवाई भाडा बढाएका छन् ।
नयाँ भाडा दरअनुसार अब यात्रुले ६५ रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने छ । एक वर्षको अवधिमा हवाई भाडा बढेको यो तेश्रो पटक हो ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४.३ प्रतिशतले बढाएपछि वायुसेवा कम्पनीरुले २ प्रतिशतले भाडा बढाएका हुन् । निजी वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले भाडा बढाउने निर्णय गरेको थियो ।
आयल निगमले शुक्रबार हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३७ बाट १ सय ४३ पुर्याएको थियो । नयाँ दरअनुसार यात्रुले काठमाण्डुबाट सबैभन्दा नजिक करिब १५ मिनेटको हवाई दूरीमा ३ हजार १ सय ४५ र टाढा १ घन्टा २० मिनेटमो दूरीसम्म ११ हजार २ सय ९५ रुपैयाँ तिर्नुपर्छ । यसअघि छोटो दूरीमा ३ हजार ८० र लामो दूरीका लागि ११ हजार ६० रुपैयाँ भाडा थियो ।
नयाँ भाडा दरअनुसार माउन्टेन फ्लाइटका लागि २ सय २५, पोखरा १ सय, भैरहवा १ सय २०, विराटनगर १ सय ४०, नेपालगन्ज १ सय ८०, भद्रपुर १ सय ६५, तुम्लिङटार १ सय, जनकपुर ९०, भरतपुर ८० तथा लुक्लाका लागि ८५ रुपैयाँ बढेको छ ।
आजबाट माउन्टेन फ्लाइटका लागि १० हजार ६ सय ६०, पोखरा ४ हजार ९ सय ७०, भैरहवा ६ हजार ८५, विराटनगर ६ हजार ८ सय ३५, नेपालगन्ज ८ हजार ४ सय ३५, भद्रपुर ७ हजार ७ सय ६५, तुम्लिङटार ५ हजार ८०, जनकपुर ४ हजार २ सय ५०, भरतपुर ३ हजार ६ सय ७० तथा लुक्लाका लागि ४ हजार ४ सय ५० रुपैयाँ लाग्छ ।