
जनकपुर, ३ चैत– प्रहरीले जनकपुर बम काण्डका प्रमुख योजनाकार मानिएका सभासद सञ्जय साहलाई पक्रने तयारी गरेको छ ।
बम काण्डमा संलग्न सशस्त्र समूहका नाइने मुकेश चौधरीले बयानका क्रममा घटनाका मुख्य योजनाकार साह रहेको बताएपछि प्रहरीले उनलाई पक्रने तयारी गरेको हो ।
भारतबाट पक्राउ परेका उनले चौधरीले बयानका क्रममा घटना गराउन सभासद साहले पैसा र बन्दुक उपलब्ध गराएको बताएका छन् ।
उच्च प्रहरी स्रोतले दिएको जानकारीअनुसार साहलाई पक्रन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रधान कार्यालयले पत्राचारसमेत गरिसकेको छ । साह राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका उपाध्यक्षसमेत हुन् ।
मिथिला प्रदेश स्थापनाको माग राखेर जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकाहरुमाथि लक्षित गरी २०६९ वैशाख १८ गते विस्फोट गराइएको थियो । विस्फोटमा पाँच जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।
बम काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले मुकेश चौधरीसहित जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, जितेन्द्रलाल कर्ण र दिपेन्द्र झालाई यसअघि नै पक्राउ गरिसकेको छ ।