होलीका क्रममा ४ सय १७ पक्राउ

काठमाण्डु टुडे २०७० चैत २ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, २ चैत– प्रहरीले काठमाण्डु उपत्यकाबाट होलीका बेला उच्छृंखल गतिविधि गर्ने र नियम उल्लंघन गरी सवारी चलाउने ४ सय १७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले काठमाण्डु टुडेलाई जानकारी दिए ।

उनका अनुसार त्यस क्रममा मादक पदार्थ सेवन गरी चलाइएका र दुईभन्दा बढी व्यक्ति सवार गरी १ सय ३७ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुविरुद्ध गल्तीको प्रकृति हेरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने केसीले बताए ।

अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष होलीको दिन अप्रिय घटना कम भएको दाबी प्रहरीले गरेको छ । ‘गत वर्षहरुको तुलनामा यो वर्ष कम घटना भएका छन्’, केसीले भने, ‘तुलनात्मक रुपमा यो वर्ष होली शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

केसीले अभिभावकको अशावधानीका कारण छतबाट खसेर होली खेल्ने क्रममा तीन बालकालिकाको ज्यान गए पनि अन्य अप्रिय घटना हुन नपाएको जानकारी दिए ।

होलीमा हुने विक्रिति रोक्न प्रहरीले राजधानीमा आइतबार बिहानैदेखि राजधानीको सुरक्षा व्यवस्था कडा पारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us