बुटवल, २ चैत– नेकपा मालेका महासचिव सिपी मैनालीले समयमै संविधान जारी गर्ने गरी संविधान निर्माणको कार्यतालिका बनाउनुपर्ने बताएका छन् । 
आइतबार बुटवलमा भएको पत्रकार सम्मेलनमा मैनालीले अघिल्लो संविधानसभामा सहमति भएका विषय वर्तमान संविधानसभाले अनुमोदन गराउनुपर्ने बताए ।
संविधानसभा बाहिर रहेका नेकपा–माओवादीसहितका दललाई पनि सँगै लिएर अघि बढ्नुपर्ने भनाइ उनको थियो । मैनालीले समस्या समाधानका लागि नेकपा–माओवादीले माग गर्दै आएको सर्वपक्षीय गोलमेच सम्मेलन बोलाउन सकिने उल्लेख गरे ।
अर्को एक फरक प्रसंगमा मैनालीले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताए । सुशील कोइरालालाई प्रधानमन्त्रीमा मतदान गरेको माले मन्त्री छनोट प्रक्रियामा भएको विवादका कारण अझै सरकारमा गएको छैन । मैनालीले श्रीमती निलम खड्कालाई मन्त्री बनाउन चाहेपछि विवाद भएको हो ।