काठमाण्डु, २ चैत– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सरकार समर्थित दलका विद्यार्थी नेताहरुलाई प्रधानमन्त्री सुशील कोइरालाकै अगाडि हप्काएका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ताको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालासमक्ष ध्यानाकर्षणपत्र बुझाउन बालुवाटर पुगेका नेविसंघ र अखिलका नेतालाई गौतमले हप्काएका हुन् ।
सरकारले गरेको निर्णयविरुद्ध सडकमा आउनु प्रतिपक्षीहरुको चरित्र र अधिकार भए पनि सरकार समर्थित दलका विद्यार्थी संगठन नै विपक्षीसँग मिलेर सरकारविरोधी आन्दोलनमा लागेको भन्दै गौतमले रोष पोखे ।
‘विपक्षीको काम नै सरकारको विरोध गर्ने हो’, गौतमले भने, ‘तर सरकारमै भएका दलका विद्यार्थी संगठनले सरकारको विरोध गर्दै सडकमा नारा लगाउन मिल्छ ?’ उनले नेविसंघ र अखिललाई निर्देशनात्मक शैलीमा सरकारको निर्णयको विरोधमा सडकमा नजान पनि भने ।
बामदेव कड्किएपछि प्रधानमन्त्रीको दल काँग्रेस निकट नेविसंघ अध्यक्ष रञ्जित कर्णले आफू बन्द गर्न नहुने पक्षमा रहेको बताए । यद्यपि शनिबार बसेको १६ विद्यार्थी संगठनको बैठकले आगामी ५ चैतमा उपत्यका बन्दको घोषणा गरेको छ ।
उक्त निर्णयमा कर्ण आफैंले हस्ताक्षर गरेका छन् । गृहमन्त्री गौतमको दल एमाले सम्वद्ध अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले भने उनको प्रतिवाद गरे ।
मल्लले सरकारले पेट्रोलियम पदार्थमा एक्कासि चर्को मूल्यवृद्धि गरेर जनतालाई आहत बनाएकाले बाध्य भएर सडकमा आउनु परेको बताए ।