विद्यार्थीलाई प्रधानमन्त्रीले सोधे ‘आयल निगममा चुहावट र भ्रष्टाचार हुन्छ र ?’

काठमाण्डु टुडे २०७० चैत २ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, २ चैत– प्रधानमन्त्री सुशील कोइरालाले नेपाल आयल निगममा हुने गरेको चुहावट र भ्रष्टाचारबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
Sushil-Koiralaपेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन बालुवाटार पुगेका १६ विद्यार्थी संगठनका नेताहरुसँग प्रधानमन्त्रीले त्यसबारे आफूले केही थापा नपाएले नियन्त्रण प्रयास पनि नभएको बताएका हुन् ।

विद्यार्थी नेताहरुले सरकारले आयल निगममा हुने गरेको भ्रष्टाचार र चुहावट नियन्त्रण गर्नुको साटो मूल्यवृद्धि मात्र गरेर जनताको ढाड सेक्ने गरेको बताएका थिए । प्रधानमन्त्रीले चुहावट र भ्रष्टाचार हुने गरेको सूचना दिएको भन्दै विद्यार्थी नेताहरुलाई धन्यवादसमेत दिए । ‘मलाई आयल निगममा चुहावट र भ्रष्टाचार हुन्छ भन्ने नै थाहा थिएन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लले काठमाण्डु टुडेसँग भने, ‘तपाईंहरुसँग कुरा गरेर मैले धेरै कुरा थाहा पाएँ, अब अनियमितता रोक्न पहल गर्छु ।’
प्रधानमन्त्रीले मूल्यवृद्धि गर्नु सरकारको बाध्यता भएकाले आन्दोलन नगर्न विद्यार्थी संगठनहरुलाई आग्रंह गरेका थिए । आयल निगम घाटामा गएकाले बाध्य भएर मूल्यवृद्धि गर्नुपरेकाले आन्दोलन नगर्न प्रधानमन्त्रीको विद्यार्थीलाई आग्रह थियो । उनले सरकारले आजै आपूर्ति सचिवको नेतृत्वमा समस्या समाधानका लागि उच्चस्तरीय वार्ता टाृली गठन गर्ने जानकारी पनि गराए ।

‘सरकारले आयल निगमको घाटा कम गर्न बाध्य भएर मूल्य बढाएको हो’, प्रधानमन्त्रीले भने, ‘तपाईंहरु सडक छाडेर वार्तामा आइदिनुपर्‍यो, बन्द र हड.तालबाट जनतालाई दु:ख हुन्छ ।’
जवाफमा आफूहरुले मूल्यवृद्धिको निर्णय नसच्चिएसम्म वार्तामा नबस्ने बरु सशक्त आन्दोलन गर्ने बताएको मल्लले जनाए । डेढ घण्टासम्म चलेको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कोइरालासहित उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, अर्थमन्त्री रामशरण महत तथा अर्थसचिव शान्तराज सुवेदी र आन्दोलनरत विद्यार्थी संगठनका तर्फबाट १६ वटै संगठनका प्रमुख र प्रतिनिधि सहभागी थिए ।
सरकारले पेट्रोलमा प्रतिलिटर १० र डिजेल र मट्टितेलमा प्रतिलिटर ६/६ रुपैयाँका दरले मूल्यवृद्धि गरेपछि विद्यार्थीले उपत्यकासहित देशभर प्रदर्शन गर्दै आएका छन् । १६ विद्यार्थी संगठनको शनिबार बसेको बैठकले ५ चैतमा उपत्यका बन्दको घोषणा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us