मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने

काठमाण्डु टुडे २०७० चैत १ गते १२:३० मा प्रकाशित

oil nigamकाठमाण्डु, १ चैत – पेट्रोलियम पदार्थमा गरेको भारी मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले मूल्य वृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनीहरुले पाँच दिनसम्म पनि सरकारले मुल्य वृद्धिको निर्णय फिर्ता नलिए आमहडताल सहितको सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

साक्षात्कारमा अनेरास्ववीयुका अध्यक्ष किशोर विक्रम मल्लले बढेको मुल्य पूरै फिर्ता नभएसम्म विद्यार्थीहरुको आन्दोलन फिर्ता नहुने स्पष्ट परो । आन्दोलन दवाउन खोजे सरकारले त्यसको चर्को मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ ।

आफ्नो माउ पार्टीसमेत सरकारमा रहे पनि विद्यार्थी संगठन उनीहरुलाई बचाउन भन्दा विद्यार्थी र जनताको हितको लागि कसैसँग सम्झौता नगर्ने उनको स्पष्टोक्ति छ ।

यसपटक विद्यार्थी आन्दोलन एक दुई रुपैया घटाएर नरोकिने स्पष्ट पार्दै उनले जनतालाई समेत आन्दोलनमा सहभागी हुन आह्वान गरे ।

यस्तै नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले मुल्यवृद्धि पूरै फिर्ता नभएसम्म आन्दोलन जारी रहने प्रतिवद्धता ब्यक्त गरे । १६ विद्यार्थी संगठनको बन्दको कार्यक्रममा भने आफूहरुको सहमति नरहेको उनको भनाइ छ ।

यसैगरी अनेरास्ववीयु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सरकारले मूल्य वृद्धि पूरै फिर्ता नगरे आफूहरु आमहडतालसम्मको कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिए ।

मूल्य वृद्धि गर्नुको साटो आयल निगमलाई दिएको ऋणलाई अनुदानमा रुपान्तरण गरेर निगमभित्रको अनियमितता सुधार गर्नतर्फ ध्यान दिनु पर्ने उनको सुझाव छ ।

नेकपा–माओवादी निकट अनेरास्ववीयु क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीले केही रकम घटाएर विद्यार्थीहरुलाई फकाउने प्रयास नगर्न चेतावनी दिँदै पूरै मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

समाजवादी विद्यार्थी संगठनका महासचिव दिपक महतोले मूल्य वृद्धि गर्नुको साटो चुहावट नियन्त्रण र निगमको ब्यवस्थापनमा सुधार गर्नतर्फ ध्यान दिनु पर्ने आवश्यकता औंल्याए ।

यसैबीच नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले विद्यार्थी संगठनहरुलाई आन्दोलन भन्दा पनि मूल्य वृद्धिको उपर्युक्त विकल्प दिन आग्रह गरे । उपर्युक्त विकल्प नभएसम्म मूल्यवृद्धि फिर्ता लिन नसकिने उनको भनाइ छ ।

खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८६४ रुपैया घाटा भएकोले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्नु परेको भन्दै उनले व्यवसायिक प्रयोजनमा निलो सिलिण्डर पूर्ण कार्यान्वयन भए मूल्य घटाउन सकिने बताए ।

‘ग्याँसको अनुगमन थालेका छौं,’ उनले भने,  ‘निलो सिलिण्डर कार्यान्वयन भएपछि परल मूल्यमा विक्री गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउँछौ ।’

मूल्य बढाउनु अघि विद्यार्थी संगठनहरुसँग समेत छलफल गर्दा विकल्प नदिएको गुनासो गर्दै घिमिरेले सरकारलेसमेत अनुदान माग्दा ऋण दिएकोले निगम अझै संकटमा फसेको बताए ।

निगमले बढी भएको कर्मचारी हटाएर, तेलको कुपन वितरण बन्द र प्रशासनीक सुधार गरेर १५ करोड घाटा घटाएको जानकारी दिँदै उनले घाटाको कारण आपूर्तिमा समस्या उत्पन्न भएकोले सहज आपूर्तिको लागि मूल्य बढाउनु परेको बताए ।

प्रवक्ता घिमिरेका अनुसार निगमलाई अहिले मासिक १ अर्ब ५ करोड घाटा छ ।

ग्याँसमा वार्षिक १ अर्ब २९ करोड ७३ लाख घाटा भएको, मुल्यवृद्धि पछि पनि पेट्रोलमा ११ रुपैयाँ १९ पैसा, मट्टीतेलमा ११ रुपैयाँ ३८ पैसा, हवाई ईन्धनतर्फ आन्तरिकमा ३३ रुपैया ३० पैसा, अन्तर्राष्ट्रियमा ४० रुपैयाँ ५५ पैसा नाफा रहेको र डिजेलमा अझै पनि ५ रुपैयाँ २४ पैसा घाटा रहेको उनको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us