बुटवल, १ चैत – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले आवश्यक कानुनी प्रक्रिया संशोधन गरेर तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
संविधान जारी भएपछि पनि राज्यको संरचना बन्न पाँच/सात वर्ष लाग्ने भन्दै पोखरेलले एमाले अन्तरिम भए पनि स्थानीय निकायको निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बताए ।
प्रेस चौतारी रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले विगत १६ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा तल्लो तहमा दलहरु विस्थापित हुने तथा भ्रष्टाचार र अनियमितता बढ्ने भएकाले पनि निर्वाचन आवश्यक रहेको बताए ।
घोषणपत्रमा अन्तरिम भए पनि स्थानीय निकायको निर्वाचन गराउनुपर्ने उल्लेख गरेको एकीकृत नेकपा माओवादीले अहिले त्यसको विरोध गर्नुले उसले जे भन्छ त्यो गर्दैन भन्ने कुराको पुष्टि भएको महासचिव पोखरेलको धारणा छ ।
स्थानीय निकायको निर्वाचनले संघीयता कमजोर हुन्छ भन्ने एमाओवादीको बुझाइ अचम्मको भएको उनको भनाइ छ । स्थानीय चुनावको मिति घोषणा गरे एमालेले आफ्नो महाधिवेशन स्थगित गरेरै भए पनि चुनावमा होमिने उनले बताए ।