एमाओवादीसँग एकीकरण सम्भव छैन : गुरुङ

काठमाण्डु टुडे २०७० चैत १ गते ११:२४ मा प्रकाशित

Dev-Gurungपर्वत, १ चैत – नेकपा–माओवादीका सचिव एवम् संयुक्त जनसमितिका संयोजक देव गुरुङले एकीकृत नेकपा माओवादीसँग तत्काल एकीकरण सम्भव नभएको बताएका छन् ।

नेकपा–माओवादी पर्वतको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेता गुरुङले हेटौंडा महाधिवेशनले पारित गरेको कार्यदिशा नसच्चाएसम्म एकीकरण सम्भव नभएको स्पष्ट पारे ।

एमाओवादी हेटौंडा महाधिवेशनबाट नयाँ जनवादी क्रान्तिको कार्यदिशा छाडेर समाजवादी क्रान्तिमा गएको भन्दै उनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने पालुङ्टार बैठकको कार्यदिशामा आएमात्रै एकीकरण सम्भव हुने बताए ।

संविधानसभा निर्वाचनको नतिजापछि एमाओवादीले गल्ती स्वीकार गरेकाले ऊसँग कार्यगत एकता र सहमतिको ढोका खुलेको उनले बताए ।

सशस्त्र द्वन्द्वका घटना ब्युँताएर दुवै पार्टीलाई समाप्त पार्ने र स्थानीय निकायको निर्वाचन गर्ने षड्यन्त्र भएपछि कार्यगत एकताको प्रक्रिया सुरु भएको सचिव गुरुङको भनाइ थियो ।

सबै राजनीतिक दलबीच  सहमति र सहकार्यबिना स्थानीय निकायको निर्वाचन नहुने उनको जिकिर छ । राज्यको पुनःसंरचना गरेरमात्रै नयाँ संरचनाको आधारमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने उनले बताए ।

‘अन्तरिम संविधानले सङ्घीय संरचनामा लैजानुपर्ने निर्देशन गरिसकेको अवस्थामा सङ्घीय संरचनामा नगई र संविधान नै निर्माण नगरी स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा संवैधानिक छैन,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us