बाँके, १ चैत – बाँके जिल्लाको कम्दीमा विवाह भोज खाएर बिरामी भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ । एक विवाहमा शुक्रबार भोज खाँदा परिकार विषाक्त भएकाले २०० भन्दा बढी बिरामी परेका थिए । बिरामी पर्नेमा ३५ जना बालबालिका समेत रहेका छन् ।
बिरामी परेका अधिकांश कम्दी गाविसको ढलैपुर, रङ्गीताल, ग्वाना र मिलनिया गाउँका रहेका छन् ।
खाना विषाक्त भएका कारण उनीहरु बिरामी परेको अनुमान गरिए पनि ठोस कारण पत्ता लगाउन दुई जनाको दिशा सङ्कलन गरी आज अनुसन्धानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डु पठाइएको छ ।
भेरी अञ्चल अस्पतालमा उपचार भइरहेका १२५ जनामध्ये ५० जना घर फर्किएका छन् । सो गाउँका स्थानीय पूर्णबहादुर बोहराको घरमा करिब ६१ जनाको उपचार भइरहेको छ ।
कम्दी उपस्वास्थ्य चौकीका इन्चार्ज टीकाराम बोहराको नेतृत्वमा चार जनाको औषधिसहितको टोलीले गएरातिदेखि उपचार गरिरहेको छ ।
यस्तै २४ जनाको मेडिकल कलेज नेपालगन्जमा र चार जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे जानकारी लिन जनस्वास्थ्यको एक टोली त्यसतर्फ गएको छ ।
स्थानीय एकलाल थापाको घरमा विवाह भोज खाएकाहरुमा बान्ता हुने र पेट दुख्ने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बा“केका कर्मचारी रामबहादुर चन्दले जानकारी दिए ।
उपचारका लागि भर्ना गरिएका बिरामीमध्ये तीन जनाबाहेक अन्य सबैको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।