बागलुङ नगरमा तीन ठूला आयोजना सुरु हुँदै

काठमाण्डु टुडे २०७० चैत १ गते ८:४४ मा प्रकाशित

बागलुङ, १ चैत – बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षभित्रै नगर क्षेत्रमा तीन ठूला आयोजना निर्माणको काम सुरु गर्दैछ । नगर चक्रपथ कालोपत्र गर्ने तथा बसपार्क र सहिद स्मृति पार्क निर्माणको काम यसै आर्थिक वर्षमा सुरु हुने भएका छन् ।

त्यस्तै साना आयोजनामा भत्केका सडकको मर्मत सुधार, दमकल खरिद, ढल सुधार, सार्वजनिक शौचालय निर्माणलगायतका योजना पनि यही आवमा सुरु गरिने नगरपालिका कार्यालयले जनाएको छ ।

वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सहिद स्मृति पार्कमा पर्यटक भित्र्याउने लक्ष्यका साथ पार्कको मर्मत, सुधार र आकर्षण थप्ने योजना नगरपालिकाको छ ।

एक करोडभन्दा बढीको लागतमा पार्कको पुनर्निर्माण हुन लागेको हो । विश्व बैंकको सहयोगमा यसअघि नै सम्झौता भइसकेको नगर चक्रपथ कालोपत्र गर्ने कार्य पनि यसै आर्थिक वर्षदेखि सुरु हुने कार्यकारी अधिकृत हरिदत्त कँडेलले बताए ।

तत्कालका लागि करिब रु १९ करोडको लागतमा छ किलोमिटर सडक कालोपत्र गर्ने काम सुरु हुने भएको हो ।

त्यस्तै वर्षौंदेखि माग रहेको दमकल भित्र्याउने प्रक्रिया पनि नगरपालिकाले अघि बढाएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङ नगरपालिकामा दमकल ल्याइने भएको हो । उक्त दमकललाई नेपाल प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी र प्रशासनको सहयोगमा चलाइने योजना बनाइएको छ ।

मध्य पहाडी राजमार्ग सञ्चालनमा आउनेक्रम सुरु भएकाले लामो दूरीको सवारीका लागि उपल्लोचौरमा १७ रोपनी जग्गामा बसपार्क निर्माण गर्ने र छोटो दूरीका सवारीका लागि चिप्लेटी बसपार्क व्यवस्थित बनाउने अधिकृत कँडेलले जानकारी दिए ।

यी आयोजना सञ्चालनका लागि विश्व बैंकको सहयोग प्राप्त हुने भएकाले प्रारम्भिक चरणका गतिविधि र दरभाउपत्र आह्वान गर्ने प्रक्रिया अघि बढेको कँडेलको भनाइ छ ।

त्यस्तै अहिलेसम्म चालु आव २५ प्रतिशत आयोजना सम्झौता भएर काम सुरु भइसकेको कार्यालयले जनाएको छ । बाँकी ७५ प्रतिशत योजना सम्झौताको तयारीमा छन् ।

ती योजना पनि छिटो सम्झौता गरेर समयमै काम सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगरपालिका क्षेत्रलाई स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका आधारभूत आवश्यकताको पूर्ण सुनिश्चितताको अवस्थामा पु¥याउन नगरपालिकाले काम थालेको छ । त्यस्तै नगरपालिकालाई भोकमुक्त क्षेत्र बनाउने लक्ष्य पनि नगरपालिकाले लिएको छ ।

यस्तै, यही आवभित्रै नगरपालिकालाई पूर्ण साक्षर नगरका रुपमा घोषणा गर्ने तयारी पनि अघि बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us