यार्सागुम्बा व्यवस्थापन कार्यविधि ल्याइँदै

काठमाण्डु टुडे २०७० चैत १ गते ८:३९ मा प्रकाशित

yarsagumbaकाठमाण्डु, १ चैत – सरकारले बहुमूल्य जडीबुटी यार्सागुम्बाको तस्करी रोक्न यार्सागुम्बा व्यवस्थापन कार्यविधि ल्याउने भएको छ ।

नेपालका हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको तस्करी रोक्दै यसको संरक्षण, सङ्कलन, प्रशोधन उपयोग तथा बजारीकरणलाई व्यवस्थित गर्न सो कार्यविधि ल्याउन लागिएको हो ।

वनस्पति विभागका महानिर्देशक यमबहादुर थापाले यार्सागुम्बा व्यवस्थापन कार्यविधि २०७० को मस्यौदा तयार भइसकेको जानकारी दिए । सो मस्यौदा वन तथा भूसंरक्षण मन्त्रालयबाट स्वीकृत गराई छिट्टै कार्यान्वयनमा ल्याउने तयारी गरिएको महानिर्देशक थापाले बताए ।

कार्यविधि लागू भएपछि यार्सागुम्बाको तस्करी रोकिनाका साथै संरक्षण, सङ्कलन र उपयोगमा समेत उल्लेख्य टेवा पुग्ने उनको भनाइ छ ।
संसारभरमा यार्सागुम्बाका ५०० भन्दा बढी प्रजाति रेकर्ड गरिएका छन् नेपालमा भने हालसम्म ११ प्रजातिका मात्रै पहिचान भएको वनस्पति विभागले जनाएको छ ।

यार्सागुम्बा बहुमूल्य जडीबुटीका रुपमा रहेको भए पनि सरकारले हालसम्म यसको उचित व्यवस्थापन गर्न नसक्दा तस्करी हुँदै आएको छ । तस्करी रोक्न र उचित बजारीकरण गर्न नसक्दा उल्लेख्य राजस्व पनि प्राप्त हुन सकेको छैन ।

यार्सागुम्बा सङ्कलनसम्बन्धी हालसम्म कुनै नीतिगत व्यवस्था छैन ।

वन ऐन २०४९ तथा वन नियमावली–२०५१ ले यार्सागुम्बाको सङ्कलनलाई प्रतिबन्ध लगाउनाका साथै सङ्कलन गर्ने व्यक्तिलाई रु ५०० सम्म जरिवाना तिराउने व्यवस्था भने गरेको छ ।

तर सरकारले २०५८ सालमा राजपत्रमा सूचना प्रकाशित गरी यार्सागुम्बाको सङ्कलन र प्रयोगमा फुकुवा गरेपछि यसको व्यापार व्यवसाय हुँदै आएको छ ।

छिट्टै आउन लागेको सो कार्यविधिमा यार्सागुम्बाको क्षेत्र निर्धारण तथा स्रोत सर्वेक्षणसम्बन्धी व्यवस्था गरिएको छ । कार्यविधि लागू भएपछि प्रत्येक व्यक्तिले यार्सागुम्बाको सङ्कलन गर्ने क्षेत्रमा पस्नुभन्दा पहिला अनिर्वाय रुपमा जिल्ला वन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने छ ।

नेपालका तीन हजार ९०० मिटरदेखि पाँच हजार एकसय मिटरसम्मको हिमाली भूभागमा यार्सागुम्वा पाइन्छ । कार्यविधिमा यार्सागुम्बा क्षेत्रमा यसको व्यवस्थित सङ्कलन र संरक्षणका लागि विभिन्न बेसक्याम्पको स्थापना गरिने पनि उल्लेख गरिएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us