काठमाण्डु, १ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा विद्यार्थी संघठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी सहितका १३ विद्यार्थी संगठनहरुले उपत्यका बन्दसहित विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।
अखिल क्रान्तिकारीको कार्यालय बागबजारमा बसेको संयुक्त बैठकले चैत ५ गेत उपत्यका बन्द गर्ने निर्णय गरेको छ ।
त्यसअघि शनिवार दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट विरोध प्रदर्शन गर्ने, चैत २ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिन आग्रह गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने, ३ गते सरोकारवालासंग अन्तरक्रिया गर्ने र राजधानीका क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने निर्णय भएको नेविसंघका प्रवक्ता युपि लामिछानेले जानकारी दिए ।
यस्तै चैत ४ गते प्रदर्शन र सरकारी गाडी सञ्चालनमा रोक लगाउने तथा ५ गते उपत्यका बन्द गर्ने निर्णय भएको लामिछानेले बताए ।
यसैबीच सत्तारुढ नेकपा एमालेको भातृ संघठनले शनिबार राजधानीमा आघा घण्टा चक्काजाम गरेको छ । दिउँसो १ बजेपछि आधाघण्टा मीनभवनमा चक्काजाम गरिएको थियो ।