काठमाण्डु, ३० फागुन – नेकपा एमाले नवौँ राष्ट्रिय महाधिवेशन (२०७१ जेठ–२४–३१ गते) दस्तावेज मस्यौदा समितले केन्द्रीय समितिबाट सुझाव लिने भएको छ ।
दस्तावेज समितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय र विभाग र पार्टीसम्बद्ध जनसङ्गठन तथा स्थानीय पार्टी समितिबाट दस्तावेजमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव माग गर्ने निर्णय गरेको हो ।
समिति संयोजक झलनाथ खनालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकले सो सुझाव आगामी चैत १० गतेभित्र पार्टी केन्द्रीय सचिवलायमा प्राप्त हुने गरी उपलब्ध गराउनुपर्ने जनाएको पार्टी सचिव शङ्कर पोखरेलले जानकारी दिए ।
मस्यौदा समितिका संयोजकमा खनाल, सहसंयोजकमा वामदेव गौतम, सचिवमा ईश्वर पोखरेल तथा सदस्यमा विद्यादेवी भण्डारी, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल रहेका छन् ।
त्यस्तै केशवप्रसाद बडाल, सुरेन्द्रप्रसाद पाण्डे, अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, वेदराज भुसाल, धर्मनाथप्रसाद साह, थममाया थापा, पुष्प कँडेल, भीमबहादुर रावल, रघुवीर महासेठ, परशुमेघी गुरुङ, घनश्याम भुसाल, अग्नि खरेल, विन्दा पाण्डे, राजेन्द्र गौतम, गोकर्णराज विष्ट, लालबाबु पण्डित, भानुभक्त ढकाल, विजय पौडेल, केशवलाल श्रेष्ठ र शत्रुघ्न महतो समितिमा छन् । समितिको अर्को बैठक चैत ४ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।