
डोल्पा, ३० फागुन – सरकारका मन्त्रीहरु र सत्तारुढ दलहरुले समेत आगामी जेठमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले तत्काल चुनाव नहुने बताएका छन् ।
एमाले डोल्पाको पाँचौं जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका गौतमले ६ महिनाभित्र स्थानीय चुनाव सम्भव नभएको बताए ।
‘बाँकी तीन महिनाभित्र गर्न सम्भव छैन,’ गौतमले भने, ‘त्यसपछि साउन भदौमा वर्षा लाग्ने भएकाले भदौपछि मात्रै चुनाव गर्न सकिन्छ ।’
सो अवसरमा जिल्लास्थित राजनीतिक दलहरुले निर्माणाधीन जाजरकोट–डोल्पा सडक, मसिनेचौर विमानस्थलको स्तरवृद्धि, पोखरा–डोल्पा र भैरहवा–डोल्पा सिधा हवाई उडान व्यवस्था, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा सुर्खेतको काँक्रेविहारमा पर्यटकीय पूर्वाधार, उपल्लो डोल्पामा रहेको चीनको सीमा क्षेत्रको सुरक्षा, यार्सागुम्बाको अवैध निकासी रोक्न साल्दाङ र तिन्जे गाविसबीचमा सशस्त्र प्रहरी बल व्यवस्था, यार्सागुम्बा उत्पादन हुने मौसममा डोल्पा र रुकुमको सिमानामा हुने हिंसा नियन्त्रणका लागि स्थायी प्रहरी चौकीको व्यवस्थाजस्ता माग राखेका थिए ।