ललितपुर, ३० फागुन – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचन चाँडो हुनुपर्नेमा जोड दिएका छन् ।
एमाले ललितपुर ३ नम्वर क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकास निर्माणका काम अपेक्षितरुपमा हुन नसकेको बताए ।
स्थानीय निकायको निर्वाचनलाई सरकारले उच्चप्राथमिकतामा राख्नुपर्ने भन्दै उनले त्यसका निम्ति आफ्नो दलले सहयोग गर्ने बताए ।
गत मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा ललितपुर जिल्लामा नेकपा एमालेले भोगेको पराजयलाई गम्भीररुपमा लिएको र त्यसको समीक्षा गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘विगतका कमी कमजोरी सच्याउँदै अघि बढेमा आगामी दिनमा संगठन बलियो बनेर जान्छ ।’
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले सर्वसम्मत रुपमा गरिने नेतृत्व चयनले पार्टी संगठनलाई थप सशक्त पार्ने बताए । संगठन सशक्तीकरणमा सामूहिक प्रयास अपरिहार्य भएको उनको कथन थियो ।