
बुटवल, ३० फागुन – रुपन्देही व्यापार सङ्घले संस्थाको आगामी दुई वर्षको कार्ययोजना निर्माण गरेको छ ।
चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न भएको तीन दिने कार्यशाला गोष्ठीले सङ्घको सिङ्गो कार्यसमिति, सल्लाहकार, शाखा तथा इकाइ समितिका प्रतिनिधिसहितको सहभागितामा कार्ययोजना निर्माण गरिएको हो ।
कार्यशालामा सङ्घले आगामी दुई वर्षमा सङ्घको आर्थिक विकास, संस्थागत विकास, सामाजिक क्षेत्रमा सङ्घको योजना, व्यावसायिक हकहित र विकासका लागि सिङ्गो कार्ययोजना निर्माण गरिएको सङ्घका अध्यक्ष श्रीकृष्ण पोखरेलले जानकारी दिए ।
कार्ययोजनामा सङ्घको आगामी दुई वर्षमा आर्थिक विकासका लागि विभिन्न योजना तर्जुमा गरिएको छ ।
जसअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार मेला तथा शाखाहरूको आर्थिक विकासका लागि स्थानीयस्तरमा विभिन्न किसिमका मेला महोत्सवको अयोजना गर्ने, विभिन्न किसिमका व्यावसायिक तालिम सञ्चालन गर्ने र राष्ट्रिय तथा स्थानीयस्तरमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको सहकार्यमा काम गर्नेलगायतका योजना बनाइएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
यस्तै सामाजिक क्षेत्रमा संस्थाको सहभागितालाई प्रभावकारी बनाउन जनसरोकारका क्षेत्र शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहकार्य अगाडि बढाउने सङ्घको कार्ययोजनामा समेटिएको छ ।
यस्तै सङ्घको संस्थागत विकासका लागि सचिवालयलाई सुविधा सम्पन्न बनाउने, सूचना केन्द्रको स्थापना गर्ने, व्यवसायीहरूलाई आ–आफ्नो व्यवसायमा सक्रिय बनाउन विभिन्न तालिम, गोष्ठीको आयोजना गर्ने, सदस्यता जिल्लाका अधिकतम व्यवसायीलाई समेट्नेलगायतका विषय कार्ययोजनामा समावेश गरिएको छ ।