विराटनगर, ३० फागुन – मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६० जनाको सवारी चालक प्रमाणपत्रमा जिल्ला ट्राफिक कार्यालयमा मोरङले प्वाल पारिदिएको छ ।
दुई महिनाको अवधिमा विराटनगरका विभिन्न स्थानमा मापसे गरी सवारी साधन चलाउनेहरुको प्रमाणपत्रमा प्वाल पारिएको हो ।
माघ महिनामा ४१ जना र फागुन महिनामा १९ जनाको सवारी चालक प्रमाणपत्रमा प्वाल पारिएको कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक खेम केसीले बताए ।
यसरी कारबाहीमा पर्नेहरुमा मोटरसाइकल, बस, ट्रक, ट्याक्टर, जिप तथा कारका चालक रहेका छन् । मोरङमा माघ १ गतेदेखि यो अभियान सुरु भएको र अहिलेसम्म ६० वटा प्रमाणपत्रमा एक–एकवटा मात्र प्वाल पारिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
सवारी चालक प्रमाणपत्र पाँच पटकसम्म प्रहरीले प्वाल पारेपछि त्यस्ता प्रमाणपत्र रद्द हुने प्रावधान छ ।