इटहरी, ३० फागुन – सुनसरी जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको कारोबार गर्दै आएको अभियोगमा प्रहरीको उच्च खोजीको सूचीमा रहेका भारतीय नागरिक नन्दकिशोर मेहतालाई सीमावर्ती क्षेत्र श्रीपुर जब्दीबाट पक्राउ गरिएको छ ।
ठूलो परिमाणमा लागुऔषधसहित सुनसरी प्रवेश गरेको भन्ने सुराकीका आधारमा प्रहरीले पक्राउ गरेका भारतीय नागरिक नन्दकिशोर मेहतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ ।
सुराकीका आधारमा प्रहरी उपरीक्षक मसउद आलम खाँ नेतृत्वको टोलीले भारत सुपौल बनौलीपट्टी घर भएका मेहतालाई गत बुधबार सुनसरीको श्रीपुर जब्दी–३ बाट लागुऔषधसहित नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका भारतीय नागरिकसहित बरामद लागुऔषध सार्वजनिक गरिएको हो । प्रहरीले मेहताका साथबाट १०० एमएलको ४८ बोतल कोरेक्स र ३६ फायल स्पास्मो प्रोक्सिवन क्याप्सुलसमेत बरामद गरेको छ ।
नेपालतर्फ आगुऔषध ल्याउने प्रयोजनमा सक्रिय भारतीय नागरिकको संलग्नताको आशङ्का गरेको प्रहरीले सीमावर्ती नाकामा बढाएको निगरानीका आधारमा उक्त परिमाणमा लागुऔषध बरामद गर्न सफल भएको प्रहरीको भनाइ छ ।