होलीमा ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्ने

काठमाण्डु टुडे २०७० फागुन ३० गते ९:४६ मा प्रकाशित

काठमाण्डु, ३० फागुन – होली पर्वका बेला उपत्यकामा जथाभावी सवारी चलाउँदा हुने दुर्घटना रोक्न महानगरीय ट्राफिक प्रहरीले विशेष अभियान चलाउने भएको छ ।

होली पर्वलाई दुर्घटना शून्य बनाउने अभियानअन्तर्गत ट्राफिक प्रहरीले यो अभियान ल्याएको हो । हेल्मेट नलगाउने, तोकिएको भन्दा बढी यात्रु चढ्ने, छतमा यात्रा गर्ने तथा मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाएका कारण हुनसक्ने दुर्घटना रोक्न ट्राफिक प्रहरीले विशेष अभियान चलाउन लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) केशव अधिकारीले सवारी नियम उल्लङ्घन गरी दुर्घटना निम्त्याउने गरी होलीका अवसरमा जथाभावी सवारी चलाउनेलाई कडा कारबाही गरिने बताए ।

‘उपत्यकाका ४७ स्थानमा बिहानैदेखि दुई चरणमा ‘चेकप्वाइन्ट’ खडा गरी ट्राफिक प्रहरी परिचालन गरिनेछ, आकस्मिक र दिनभरि मोबाइल टोली पनि खटाइनेछ,’ डिआइजी अधिकारीले भने ।

उनले नियम उल्लङ्घन गरी जथाभावी सवारी चलाउनेलाई कसुर हेरी कारबाही गरिने  र जनपथ प्रहरीसँग समेत समन्वय गरी होलीका अवसरमा दिनभरि नै छड्के चेकजाँच गरिने बताए ।

ट्राफिक प्रहरीले हाल दैनिक ४० ठाउँमा सवारी साधनको चेकजाँच गर्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us