प्रेमीसँग मिलेर पतिको हत्या !

काठमाण्डु टुडे २०७० फागुन ३० गते ८:१७ मा प्रकाशित

पर्सा, ३० फागुन – पर्साको अमरदेवपट्टी गाविस–६ का नवल सहनीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी नवलकी पत्नीको वयानका आधारमा पत्नी प्रर्मिला देवी र उनका प्रेमी दिपा सहनी मिलेर हत्या गरेको रहस्य खुलेको हो ।

करिब पाँच वर्षदेखि दिपा र प्रर्मिलाको बीचमा प्रेम सम्बन्ध रहेको र आफूहरुको बाधकको रुपमा नवल रहेको निश्कर्ष निकाल्दै उनीहरुले फागुन २७ गते बिहान नवलको हत्या गरेका हुन् ।

फागुन २६ गते रातिसम्म गाउँमा अर्केष्टा हेरेर बिहानीपख घर फर्किएका नवल घरमा सुतिरहेको अवस्थामा प्रर्मिलाको समेत सहयोगमा दिपाले घाँटी थिचेर हत्या गरेको र पछि आत्महत्या गरेको भन्ने बनाउन दिपाले नै डोरी घाँटीमा बाँधेर नवललाई झुन्डाएरको अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन् ।

प्रर्मिलाले प्रहरीसमक्ष आफू र दिपाबीच विगत पाँच वर्षदेखि अनैतिक सम्बन्ध रहेको बताएकी छन् । प्रर्मिला प्रहरी नियन्त्रणमा रहेको भए पनि दिपा भने फरार रहेको छ ।

उसको खोजीकार्य जारी रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक नवीन कार्कीले बताए ।

नवलका दुईजना छोरा छन् भने दिपाको पनि दुइवटै छोरा रहेका छन् । बाबुको हत्या पछि र आमा प्रहरीको फन्दामा परेपछि छोराहरुको बिचल्ली भएको छ । प्रहरीका  अनुसार फागुन २७ गते बिहान ७ बजे नवलको हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us