काठमाण्डु, ३० फागुन – प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा आगामी जेठभित्रै कुनै पनि हालतमा स्थानीय निर्वाचन गर्ने विषयमा छलफल भएको वरिष्ठ नेता नेपालले बताए ।
‘दुई दलबीचमा आगामी जेठमा जसरी पनि स्थानीय निर्वाचन गर्ने विषयमा छलफल भयो,’ भेटवार्ता पछि नेता नेपालले भने, ‘संविधान निर्माणमा देखिएको ढिलाइलाई निराकरण गर्ने विषयमा समेत सकारात्मक छलफल भएको छ ।’
एनेकपा माओवादी र नेकपा–माओवादीले त आगामी जेठमा घोषणा गरिने स्थानीय निर्वाचनमा भाग नलिने भनेको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता नेपालले त्यसलाई हारको मानसिकताको उपज हो, भन्ने प्रतिक्रिया दिए ।
‘स्थानीय निर्वाचन त एनेकपा माओवादीले संविधानसभाको निर्वाचन अघि बनाएको एजेन्डा हो,’ नेता नेपालले भने, ‘तसर्थ अहिले हारको मानसिकताबाट माथि उठेर ग्रामीण क्षेत्रसम्म राज्य कोषको सदुपयोग गर्नका लागि पनि स्थानीय निर्वाचनमा सबैले भाग लिनुपर्छ ।’
नयाँ संविधान निर्माण एक वर्षमा गरिसकेपछि संघीयताका बारेमा व्यवस्थापन गर्न समय लाग्ने भएकाले आगामी चार वर्षसम्म कुनै पनि निर्वाचन हुन नसक्ने उनको भनाइ छ ।
साथै भेटमा भारतीय प्रधानमन्त्रीको सम्भावित नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । प्रधामन्त्री कोइरालाले यसअघि एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापासँग भेटवार्ता गरिसकेका छन् ।