
कञ्चनपुर, ३० फागुन – सशस्त्र द्वन्द्वका क्रममा ध्वस्त भएका कञ्चनपुरका सातवटा गाविस कार्यालय भवन निर्माण गरिने भएको छ ।
जिल्ला विकास समितिले शान्ति तथा पुनःनिर्माण कार्यक्रमअन्तर्गत सुडा, कृष्णपुर, देखतभुली, रैकवार विचवा, झलारी, शङ्करपुर र परासन गाविसका भवन निर्माण गर्न लागेको हो ।
जिल्ला विकास समितिका योजना शाखा प्रमुख महेश बमका अनुसार सातवटै गाविस भवन निर्माणका लागि रु ३० लाखका दरले रकम विनियोजन गरिएको छ ।
चालु आवदेखि नै भवन निर्माणको कार्य सुरु हुने उनले बताए । गत वर्ष सोही कार्यक्रमअन्तर्गत यहाँका १२ वटा गाविस भवन पुनःनिर्माण गरिएका थिए ।
शान्ति तथा पुनःनिर्माणका लागि कुल बजेट रु चार करोड ८५ लाख रकम छुट्याइएको छ ।
सोही कार्यक्रमअनुसार कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारीको भवन निर्माणका लागि रु १० लाख, द्वारिकादेवी ठकुरानी मीनबहादुर चन्द स्मृति प्रतिष्ठानका लागि १५ लाख, उदयदेव उमावि भवन निर्माणका लागि १० लाख तथा जनकल्याण उमावि कालिका, रामपुर बहुमुखी क्याम्पसको भवन, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस र जिल्ला प्राविधिक कार्यालयको भवन निर्माणका लागि २०÷२० लाखका दरले रकम विनियोजन गरिएको छ ।