
कञ्चनपुर, ३० फागुन– सुदूरपश्चिममा पाँच हजार ९०४ व्यक्तिमा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ ।
एचआईभी एड्सका कारण सुदूरपश्चिममा हालसम्म ३ सय ५८ जनाको मृत्यु भइसकेको एक तथ्याङ्कले देखाएको छ । एचआइभी/एड्स रोकथामका पक्षमा काम गर्दै आइरहेको कञ्चनपुरको फेथ नामक गैरसरकारी संस्थाको तथ्याङ्कमा सुदूरपश्चिममा हालसम्म एड्स रोगका कारण ३५८ जनाको मुत्यु भएको हो ।
फेथका संयोजक नवराज पाण्डेयका अनुसार मृत्यु भएका अधिकांश रोजगारीका लागि भारतबाट फर्किएका व्यक्ति रहेका छन् । भारतबाट रोजगारी गरी फर्केकाहरुले घर फर्कंदा एचआइभी सङ्क्रमित भएर आउने र यहाँ आएर समयमै उपचार नगरेका कारण उनीहरुको मुत्यु भएको संयोजक पाण्डेयले जानकारी दिनुभयो । जसमा सबैभन्दा बढी अछाममा रोगको सङ्क्रमण देखिएको छ ।
संयोजक पाण्डेयका अनुसार नेपालमै काठमाण्डुपछिको दोस्रो एचआइभी रोगको केन्द्र सुदूरपश्चिम बन्दै गएको बताए । सुदूरपश्चिम एचआइभीको उच्च जोखिममा रहेको छ । जसअनुसार सुपमा १६ प्रतिशत जोखिम छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतले समाजिक चेतना बढाउनमा सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए ।
‘सुदूरमा एचआइभीको समस्या दिनानुदिन बढिरहेको छ’, उनले भने, ‘एचआइभी एड्स रोकथामका लागि फेथसँग जनस्वास्थ्य कार्यालयले सहकार्य गरेको छ ।
सरकारले आब ७०/०७१ मा देशभरिमा एचआइभी सङ्क्रमित सङ्ख्या ५० प्रतिशतले घटाउने लक्ष्य लिएको महतले जानकारी दिए । रासस