मुस्लिम युवाले छोरी भगाएको झोंकमा बजार बन्द

काठमाण्डु टुडे २०७० फागुन ३० गते १:०४ मा प्रकाशित

काठमाण्डु, ३० फागुन – सङ्गीता शाहकी १९ वर्षीया छोरी मुस्लिम समुदायको युवाले भगाएको भन्दै दुई दिनदेखि सुनसरीको दुहवी बजार बन्द गरिएको छ ।

एक महिनाअघि दुहवी निवासी मोसिम मियाँ नाम गरेका युवासँग प्रेम सम्बन्धमा गाँसिएकी स्थानीय युवती अमृता शाह हलुवाईलाई भगाइएको थियो ।

घटनासँगै दुई परिवारबीच भएको छलफलमा भारतको मद्रासमा लुकिछिपी बसेको युवायुवतीलाई घर फर्काउने सहमति भएको थियो ।

सहमतिअनुसार छोरी फिर्ता नगरेको भन्दै छोरीका आफन्त तथा दुहवीका स्थानीय बासिन्दाले युवकका अविभावकलाई छलफलमा बोलाएको थियो ।

छलफलसँगै भएको विवाद कुटाकुटको अवस्थामा पुगेपछि केटी पक्षले बजार बन्दको आह्वान गरेर बजार बन्द गराएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

त्यसलगत्तै स्थानीय बासिन्दाले मुस्लिम युवासँग भागेको युवती फिर्ता हुनुपर्ने माग गर्दै अनिश्चितकालीन दुहवीबजार बन्द गराएका छन् ।

बन्दका कारण स्थानीय बजार पूर्ण रुपले बन्द भएका छन् । युवती फिर्ता नभएसम्म बजार नखोल्ने स्थानीय रञ्जित गोस्वामीले बताए ।

मुस्लिम समुदायसँग मिलेर प्रहरीले समेत अन्याय गरेको भन्दै दुहवीवासीले केटाकेटी समाजमा उपस्थित नगराएसम्म बन्द बजार नखोल्ने घोषणा गरेपछि दुहवी बजारमा अरू तनाव सिर्जना भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us