पहिचानसहितको संघीयताका पक्षधर मोर्चातिर

काठमाण्डु टुडे २०७० फागुन २९ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, २९ फागुन – पहिचानसहितको संघीयताका पक्षधरहरुले संविधानसभाभित्र र बाहिर रहेका शक्तिबीच मोर्चा बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा विहीबार बसेको एमाओवादी र संघीय समाजवादी पार्टीका शीर्ष नेताको बैठकले संविधानसभामा पहिचानसहितको संघीयताका पक्षधर अल्पमतमा रहेका कारण संविधानसभाभित्र र बाहिर रहेका सबै शक्तिबीच साझा मोर्चा बनाउनुपर्ने निष्कर्ष निकालेको समाजवादी पाटीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकमा संविधानसभाको निर्वाचनपछि निर्माण गर्ने तयारी गरिएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको घोषणा तत्काल गर्ने विषयमा समेत सहमति भएको छ ।

संविधान निर्माण नभई स्थानीय निकायको निर्वाचन गर्न नहुने निष्कर्षसमेत निकालिएको महासचिव श्रेष्ठले जानकारी दिए । दुई दलबीच आगामी दिनमा अझ प्रभावकारी रुपमा वार्ता र संवादलाई अगाडि बढाउने र सहकार्य गर्ने सहमतिसमेत भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us