
तनहुँ, २९ फागुन – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले गुण्डागर्दी गर्नेहरुको दिन सकिएको बताएका छन् ।
प्रेस चौतारी तनहुँले विहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले देशमा गुण्डागर्दी, दादागिरी र अराजकता मच्चाउने जो कोहीलाई पनि कानुनको कठघरामा उभ्याइने चेतावनी दिए ।
‘त्यस्ता क्रियाकलापमा लागेका व्यक्ति सरकारको घेरामा परिसका छन्,’ गौतमले भने, ‘केही भाग्न सफल भए पनि उनीहरूलाई समातेर कारागार चलान गर्छु ।’
अर्को एक प्रसङ्गमा उनले सरकारको प्राथमिकता संविधान निर्माण भएको बताए । एक वर्षभित्र संविधान निर्माण गर्ने तयारीमा सरकार रहेको उनको जिकिर छ ।
साथै गृहमन्त्री गौतमले छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने दावीसमेत गरेका छन् ।