सिंहका परिवार भन्छन्, ‘खरेलले दुःख दिए’

काठमाण्डु टुडे २०७० फागुन २९ गते ११:०९ मा प्रकाशित

DSC_1497काठमाण्डु, २९ फागुन – प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्तिका परिवारले काठमाण्डुका प्रहरी प्रमुख एसएसपी रमेश खरेलले ओहोदाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रकाशचन्द्र बस्नेत र उनकी श्रीमतीको अपहरण प्रयासको आरोपमा पक्राउ परेर महानगरीय प्रहरी परिसर हनुमान ढोकामा रहेका महेशबहादुर सिंहको परिवारले प्रहरीले ओहोदाको दुरुपयोग अनावश्यक दुःख दिएको आरोप लगाएका हुन् ।

विहीबार रिपोर्टर्स क्लवमा सम्मेलन गरेर सिंहका परिवारले प्रहरीले प्रमाणको रुपमा प्रस्तुत गरेका तथ्यहरुसमेत गलत र भ्रम छर्ने खालको भएको दावी गरेको छ ।

बैंकको कालो सुचीमा रहेर बैंकबाट ऋण पाउन नसक्ने अवस्था रहेकोले अदालती प्रक्रिया अघि बढाईसकेको अवस्थामा अपहरण गरेको आरोप लगाउनुले फसाउन नियत रहेको प्रष्ट हुने उनका दाजु महेन्द्रबहादुर सिंहको भनाइ छ ।

‘बस्नेतले पटक–पटक गरी ६ करोड ५० लाख रुपैयाँ ऋण लिएका थिए,’ उनले भने, ‘समयमा फिर्ता नगरेपछि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेर अहिलेसम्म विचाराधिन रहेकोको अवस्थामा हामीलाई फसाउन खोजियो ।’

प्रहरीले कारवाहीको लागि निवेदन लिन नमानेपछि अख्तियार मार्फत माघ १९ गते कारवाही अघि बढाउन निवेदन दिएको र अख्तियारले प्रहरी प्रधानकार्यालयलाई समेत निर्देशन दिएर न्यायिक प्रक्रिया अपनाईसकेको अवस्थामा  अपहरण गर्ने कुरा कपोकल्पित र भ्रामक मात्रै भएको उनीहरुको दावी छ ।

सिंहले घरबाट बरामद गरिएको हतियारको लाईसेन्स भएको दावीसमेत गरेका छन् ।

सिंहले अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्न योजनाबद्ध रुपमा अहरणको आरोप लगाईएको भन्दै पत्रपत्रिकामा एकहोरो मात्रै कुरा आएकोले आफूहरुले बाध्य भएर पत्रकार सम्मेलन गरेको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us