
काठमाण्डु, २९ फागुन – राष्ट्रपति डा. रामवरणसमक्ष आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा चार वटा मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति समक्ष नेपालका लागि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका राजदूत किम योङ हक, स्लोभानियाका दर्जा वाभदेज कुरेट, सुडानका हसन एल तालिव र जाम्बियाका प्याट्रिक आर. टेम्बोले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
विहीबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका राजदूत आवासीय कूटनीतिज्ञ छन्, भने अन्य मुलुकका सबै राजदूत गैरआवासीय छन् । उनीहरुले भारतको राजधानी नयाँदिल्लीमा रहेर नेपाल मामिलासमेत हेर्नुहुन्छ ।
समारोहमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, प्रधानसेनापति गौरवशम्शेर जबरा, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र उक्त मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत हुँदा नेपाली सेनाको एक टुकडीले मङ्गल धून बजाएको थियो ।