प्रहरी र तस्करबीच गोली हानाहान

काठमाण्डु टुडे २०७० फागुन २९ गते ९:१२ मा प्रकाशित

pestolलहान, २९ फागुन – सिरहाको जमदह र मुक्सार गाविसको सीमा गागन खोलामा विहीबार बिहान १ः३० बजेतिर गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।

प्रतिबन्धित लागुऔषध गाँजा बोकेर भारततर्फ बेच्न लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा गाँजा तस्करको नाका ढुकेर बसेका सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान भएको गोलबजारस्थित सशस्त्र प्रहरी बल बेस क्याम्पका प्रमुख प्रहरी निरीक्षक लीलाबहादुर कार्कीले जानकारी दिए ।

गाँजा बोकेर आइरहेको तस्करलाई अगाडिबाट घेरा हालेपछि पछाडि रहेका तस्करले एक राउन्ड नलकटुवा पड्काएका थिए । त्यसको जवाफमा आफूहरुले पनि दुई पटक गोली चलाएको प्रहरी निरीक्षक कार्कीले बताए ।

गोली हानाहानमा मानवीय क्षति नभएको जनाइएको छ । प्रहरीले जवाफी प्रहारपछि तस्करहरु गाँजा छोडेर भागेका थिए ।

तस्कर भागेपछि घटनास्थल क्षेत्रमा खोजतलास गर्दा एक थान नलकटुवा, त्यसमा लाग्ने एक थान गोली र आठ किलोग्राम गाँजा फेला परेको बताइएको छ ।  तस्कर भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

रातिको समय भएकाले तस्करको खोजी गर्न नसकिएको निरीक्षक कार्कीले बताए । उनले भने, ‘पाँच जनाको सङ्ख्यामा रहेका तस्करमध्ये अगाडि आउनेलाई छेक्यौँ ।

पछाडिबाट आउने फायर गर्दै भागे ।’ पछाडि रहेका तस्करले भने आफूसँगै गाँजा बोकेर भागेको हुनसक्ने कार्कीले उल्लेख गरे ।

यो वर्ष जिल्ला प्रहरी कार्यालय सिरहाले चलाएको गाँजा फँडानी अभियानअन्तर्गत जिल्लाका विभिन्न गाविसमा २२ बिघाभन्दा बढी जमिनमा लगाइएको गाँजा फँडानी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us