एउटै इनारमा ९२ घरपरिवार निर्भर

काठमाण्डु टुडे २०७० फागुन २९ गते ७:३५ मा प्रकाशित

Inarसिरहा, २९ फागुन – चुरे विनासको असरका कारण सिरहाको उत्तरवर्ती गाविसहरुमा खानेपानीको गम्भीर सङ्कट देखापरेको छ ।

पानीको सबै स्रोत सुकेपछि लालपुर–५ गुरुधामका अर्जुन थपलिया रु चार लाखको लागतमा हालै नयाँ प्रविधिबाट इनार खनाएका छन् ।

सो इनारमा स्थानीय ९२ घरपरिवारका करिब ३०० जना निर्भर छन् । निजी लगानीमा थपलियाले इनार खनेर गाउँलेलाई पानीको सुविधा दिएकाले स्थानीय बासिन्दा विस्थापित हुनबाट रोकिएको स्थानीयवासी महिन्द्र यादवले बताए ।

१० लाख खर्च गरी जडान गरिएको चार वटा बोर्डिङ सुकेपछि बाध्य भएर रु चार लाखको लागतमा इनार खनाएको थपलियाले बताए । उनका अनुसार ६० फिटको सो इनारमा ११० फिटको बोरिङ जडान गरिएको छ ।

थपलियाको इनारबाहेक गाउँमा रहेका करिब १३/१४ वटा इनार र करिब सयौं हातेकल एक महिना अगाडि नै सुकिसकेका छन् । एउटै इनारमा ९२ घरपरिवार निर्भर रहेका कारण दिनहुँजसो पानी भर्नकै भिड लाग्ने गर्दछ ।

विद्युत् भार कटौतीको समस्याले पनि यस गाउँलाई पिरोलिएको छ । दिनमा छ घण्टामात्र बिजुली आउने भएकाले त्यस समयमा इनारमा पानी भर्नेहरुको घुइँचो लाग्ने गर्दछ । पानी भर्नकै लागि महिलाहरुबीच दिनहुँ झै–झगडासमेत हुने गरेको छ ।

गाउँमा मात्र एउटा इनारमा पानी आउने गरेकाले ती इनार पनि सुक्छ कि भनेर स्थानीय चिन्तित बनेका छन् । इनार खनाएका थपलिया भन्छन्, ‘गाउँका सबै जनता यही एउटै इनारमा निर्भर छन् । यो इनार पनि सुक्ने हो की भन्ने चिन्ताले सताइरहेको छ ।’

लालपुर–५ गुरुधामलाई व्यावसायिक तरकारीखेती हुने गाउँ भनेर चिनिन्छ तर पानीको सङ्कट बढ्दै गएपछि अहिले तरकारी उत्पादनमा ह्रास आएको छ । स्थानीय सम्झना थपलिया भन्छन्, ‘प्रत्येक वर्ष करिब १० टन काउली फल्थ्यो तर पानीको अभावमा यो वर्ष एक किलो पनि फलेन् ।’

व्यावसायिक तरकारीखेती हुने ठाउँ भनेर गुरुधामलाई चिनिने भए पनि पानीको अभावमा यो वर्ष सबै तरकारीको बोट खेतमै सुकेको उनको गुनासो छ ।

खानेपानी सङ्कटका कारण यहाँ भोजभतेर गर्न बढी समस्या भएको लालपुर–५ का सीताराम यादवले बताए । लालपुर गाविसमा मात्र नभई जिल्लाको उत्तरवर्ती अर्थात् चुरे छेउका १४ गाविसमा खानेपानीको सङ्कट देखिएको छ ।

जिल्लाको बलानदेखि कमला नदीसम्मको ४२ किलोमिटरको दूरीमा कमलदह र मानिकदहबाहेक सबै तालतलैया सुकेका छन् । चुरे विनासको असरले पानीको सङ्कटसँगै चुरेमा बासस्थल रहेका चराचुरुङ्गी पनि सङ्कटमा परेका छन् ।

पानीको सङ्कट देखिएका १४ गाविसमध्ये अधिकांश गाविस क्षेत्र नं ५ मा पर्छन् । यस क्षेत्रबाट दोस्रो संविधानसभाको चुनावमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए ।

चुनावी भाषण गर्न गाउँगाउँ पुगेका बेला अध्यक्ष दाहालले आफू जितेपछि सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us