प्रचण्ड र भट्टराईबीच भेट

काठमाण्डु टुडे २०७० फागुन २८ गते १३:२० मा प्रकाशित

baburam-prachandaकाठमाण्डु, २८ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेता बाबुराम भट्टराईबीच बुधबार भेट भएको छ ।
भट्टराईले केही दिनअघि आफू पक्षधर नेताको भेलामा नयाँ शक्ति बनाएर अघि बढ्ने प्रस्ताव राखेको समाचार बाहिर आएपछि प्रचण्डले भट्टराईलाई आफ्नै निवास लाजिम्पाट बोलाएर भेटेका हुन् ।

भेटमा प्रचण्डले हेटौंडा महाधिवेशनको कार्यदिशालाई थप परिस्कृत गर्दै नयाँ ढंगको पार्टी निर्माण गरेर जानुपर्ने बताएको उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । यस्तै प्रचण्डले केन्द्रीय समितिको निर्णयअनुसार तोकिएकै समयमा राष्ट्रिय सम्मेलनको तयारीमा लाग्नुपर्ने बताएका थिए । माओवादी केन्द्रीय समितिले आगामी वैशाख तेश्रो साता राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

तर निर्वाचनमार्फत नेतृत्व चयन हुँदा जिल्लादेखि केन्द्रसम्म कमजोर हुने त्रासका कारण भट्टराई पक्ष राष्ट्रिय सम्मेलन सार्नुपर्ने पक्षमा छ । स्रोतका अनुसार प्रचण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि हेटौंडा महाधिवेशनको कार्यदिशालाई थप परिस्कृत गर्न र नयाँ पार्टी निर्माणका लागि वैशाखको महाधिवेशन सार्न नसकिने बताएका थिए ।

बिहीबार कार्यालय बैठक
यसैबीच एकीकृत माओवादीले बिहीबार कार्यालय बैठक बोलाएको छ । अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीचको छलफलमा बिहीबार कार्यालय बैठक बस्ने सहमति भएको हो । बैठकमा राष्ट्रिय सम्मेलन तयारीबारे छलफल हुने बताइएको छ ।
पाण्डेको एसएमएस प्रायोजित
अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीच भएको छलफलबारे भट्टराईका सहयोगी विश्वदीप पाण्डलेले अनर्गल प्रचार गरेको दाबी लाजिम्पाट स्रोतको छ । दुई नेताबीचको भेटपछि पाण्डेले केही सञ्चारकर्मीलाई प्रचण्ड नयाँ परिस्थितिअनुसार अघि बढ्न नचाहे जनताले अर्को शक्ति निर्माण गर्ने चेतावनी भट्टराईले दिएको एसएमएस पठाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us