औपचारिक समारोहमा नजाने सभाध्यक्षको घोषणा

काठमाण्डु टुडे २०७० फागुन २८ गते १२:४५ मा प्रकाशित

subash nembangकाठमाण्डु, २८ फागुन – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अपवादबाहेक औपचारिक सभा समारोहमा सहभागी नहुने घोषणा गरेका छन् ।

बुधबार राजधानीमा आयोजित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको १२ औँ वार्षिकोत्सव समारोहमा उपस्थित भएका अध्यक्ष नेम्वाङले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

यसपटक पनि संविधानसभाको अध्यक्षमा निर्वाचित भएपछि आफू दोस्रोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको उनले बताए ।

‘म सभामुख र संविधानसभाको अध्यक्षमा यसपटक निर्वाचित भइसकेपछि पहिलो सहिदको र दोस्रो तपाइँहरूको कार्यक्रममा उपस्थित भएको छु, नेम्वाङले भने, ‘अपवादबाहेकका कार्यक्रममा जान्न । सोही कारण आफू छोटो समय उपस्थित भएर कार्यक्रमबाट बिदा हुन चाहेको उनले बताएका थिए ।

सो कार्यक्रमको उदघाटनपछि आयोजकद्वारा निर्धारित व्यक्तिहरूलाई सम्मान गरेर आफ्नो भनाइ राख्दै नेम्वाङ बाहिरिएका थिए ।

‘अहिले पनि म तपाइँहरूको बीचबाट सिंहदरबार जान हतारिएको छु, किनभने नियमावली समितिले मलाई आफूले मस्यौदा गरेको नियमावली बुझाउँदैछ, नेम्वाङले भने, ‘त्यसलाई हामी भोलिको संविधानसभा बैठकमा राख्छौँ नियमावली अब बन्छ ।’

फेरि शून्यबाट सुरु गरेर एक वर्षभित्रमा संविधान नबन्ने भन्दै उनले जति काम सम्पन्न भएको छ, त्यहीँबाट अघि बढाउने बताए ।

सो अवसरमा गीतको क्षेत्रमा सक्रिय भएर संविधानसभाको सदस्य बनेका जेवी टुहुरे, सिन्धु जलेसा, रत्नादेवी गुरुङ, तप्तबहादुर विष्ट लगायतलाई अध्यक्ष नेम्वाङ र संस्कृतिविद् सत्यमोहन जोशीले सम्मान गरेका थिए । कार्यक्रममा लोक दोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us