जिल्ला परिषदमा झडप, दुईको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७० फागुन २८ गते ११:०८ मा प्रकाशित

कालीकोट, २८ फागुन – सत्रौँ जिल्ला परिषद्को बन्दसत्रको पहिलो दिन प्रतिनिधिको विषयमा छलफल भइरहेका बेला प्रहरीबाट  भएको लाठी प्रहारबाट दुई महिला पार्षद्को अवस्था गम्भीर बनेको छ । यस घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा अन्तरपार्टी महिला सञ्जाल कालीकोटकी सहसचिव कृष्णाकला शाही (काफ्ले) र जुविथा गाविस निवासी महिला नेत्री कृष्णा शाही, कृष्णप्रसाद आचार्य, रमेश शाहीलगायत पाँच जना घाइते छन् ।

जिल्ला परिषद्मा छलफल भइरहेका बेला विना कारण प्रहरीले  बन्दसत्रभित्र गएर लाठी प्रहार गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

प्रहरीले परिषद् बाहिर रहेका स्थानीयवासीलाई समेत लखेटेर घाइते बनाएको छ । जिल्लास्थित विभिन्न राजनीतिक दलहरुले विना कारण स्थानीय विकास अधिकारी पुष्पराज शाहीको निर्देशनमा प्रहरीले लाठी प्रहार गरेको भन्दै विरोध जनाएपछि परिषद् स्थगित भएको छ ।

विभिन्न राजनीतिक दलका प्रमुखले प्रहरी प्रमुख र स्थानीय विकास अधिकारीले सार्वजनिक रुपमा माफी नमाग्दासम्म परिषद् चल्न नसक्ने बताएका छन् ।

छानिछानी महिलालाई सख्त घाइते हुने गरी कुटपिट गरेको भन्दै अन्तरपार्टी महिला सञ्जाल कालीकोटकी अध्यक्ष धर्मा शाहीले विरोध जनाउनुभएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us