काठमाण्डु, २८ फागुन – एकीकृत माओवादीका नेता वर्षामान पुनः अनन्तले जेठमा स्थानीय निकायको निर्वाचन हुनै नसक्ने बताएका छन् । रिपोटर्स क्लवले बुधबार आयोजना गरेको साझात्कारमा बोल्दै पुनले काँग्रेस र एमालेले सस्तो लोकप्रियताको लागि जेठमा निर्वाचन गर्ने कुरा गरिरहेको आरोप लगाए ।
राज्यको पुर्नसंरचना नगरी स्थानीय निकायको निर्वाचन गरे राजनीतिक धु्रविकरण हुने र त्यसले संविधान निर्माण कार्यलाई नै प्रभावित गर्ने उनको आशंका छ ।
‘संविधानसभामा नरहेका दलहरुसमेत संविधान निर्माणमा सहमतिमा आउने सम्भावना बढिरहेको छ, पुनले भने, ‘यस्तो बेला फेरि निर्वाचन गरे त्यसले दुरी बढाउने र कालान्तरमा गएर संविधान निर्माण नै प्रभावित हुने अवस्था आउनसक्छ ।
नेताहरुको छवी बचाउन पनि अहिले संविधान निर्माणमा केन्द्रीत हुनु पर्ने उनको भनाइ छ ।
यद्यपि पुनले स्थानीय निकायको निर्वाचन गरे आफूहरु पछि नहट्ने बताए । चुनावमा सहभागी हुने र काँग्रेस एमाले संविधान निर्माणमा संवेदनशील नभएको एजेण्डा उठाउने उनको भनाइ छ ।